काठमाडौँ / काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नक्सा पासविना बनेका सबै संरचना हटाउने बताएका छन् ।
बुधबार न्यूरोड क्षेत्रमा अनधिकृत रुपमा बनाइएका संरचना अटाउन ठुलो संखयामा प्रहरी र डोजरसहित पुगेका मेयर बालेनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
महानगरले बुधबार बिहान सुन्धारास्थित काठमाडौँ मल अगाडि बनाइएका अवैध संरचना भत्काएको छ । संरचना भत्काउन मेयर बालेन्द्र साह र महानगरीय ट्राफिक प्रहरीका डीआईजी मीरा चौधरी पनि पुगेका थिए ।
कर्मचारी सञ्चय कोषको स्वामित्वमा रहेको काठमाडौँ मल अगाडि अनधिकृत रुपमा संरचना बनाई व्यवसायिक प्रयोजनका लागि प्रयोग भैरहेको थियो । महानगरले यसअघि बानेश्वर क्षेत्रका घरका अण्डरग्राउण्ड पार्किङमा थापिएका संरचना भत्काएको थियो ।
त्यस्तै मेयर साह डोजर लिएर खिचापोखरी नजिकैको आरबी कम्प्लेक्स पुगेका छन् । आरबी कम्प्लेक्सको अन्डरग्राउण्ड खाली गराउन खिचापोखरी पुगेका बालेनले कम्प्लेक्स अगाडि बनाइएको संरचना पनि खाली गराएका छन् ।
यसैगरी मेयर साहले काठमाडौँ जिल्ला अदालतको अन्डरग्राउण्ड पनि खाली गर्ने बताएका छन् ।
उनले भने, ‘बबरमहलमा अत्याधुनिक शैलीमा बनाइएको अदालतको अन्डरग्राउन्ड पार्किङको प्रयोगमा छैन । जसका कारण व्यस्त सडकको फुटपाथमै सेवाग्राहीले सवारी साधन पार्किङ गरिरहेका छन् । त्यो पनि खाली गराइन्छ र अवैध संरचना जसले बनाएको भए पनि त्यो कानुनको दायरामा ल्याइन्छ ।’
पार्किङका लागि नक्सा पास गरेर सटर भाडामा दिएपछि महानगरले खाली गराउन लागेको महानगरपालिकाले जनाएको छ । यसअघि ३५ दिने सूचना निकाल्दा पनि अटेरी गरेपछि महानगरले अवैध संरचना भत्काउने अभियान चलाएको हो ।