काठमाडौं / निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सम्बन्धित महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्ने भएको छ ।
२९ भदौ भित्र राणा विरुद्धको महाअभियोगका बारेमा अध्ययन टुंग्याउने प्रस्ताव गरेको सिफारिस समितिको तेस्रो बैठक आज पनि बस्ने भएको हो । बैठक अपरान्ह २ बजे बस्नेछ ।
मंगलबार बसेको सिफारिस समिति बैठकले जबरालाई यसै साता सफाइ पेश गर्न मौका दिने गरी कार्यतालिका तयार पारेको छ । जसअनुसार राणाले समिति समक्ष यसै साता जवाफ पेश गर्नुपर्ने छ ।
समितिले २९ भदौ भित्र जबरा माथि लागेको महाअभियोगका बारेमा अध्ययन प्रतिवेदन बुझाउने कार्यतालिका बनाएको छ । प्रस्तावित कार्यतालिका मङ्गलबारको बैठकमा प्रस्तुत भएको थियो ।
उता, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने प्रस्तावित कार्यतालिका समय छोट्याएर २५ भदौ भित्रै अध्ययन सम्पन्न गरेर प्रतिनिधिसभामा प्रतिवेदन पठाउनुपर्ने अडान राखेको छ । जसमा बुधवारको बैठकमा थप छलफल हुनेछ ।
१ फागुन २०७८ मा प्रतिनिधिसभामा दर्ता भएको जबरा विरुद्धको महाअभियोग उपर अध्ययन गर्ने २१ फागुनमा सिफारिस समिति गठन गरेको थियो । सो सिफारिस समितिले राणाका बारेमा अध्ययन गर्न जिम्मेवारी भने २२ साउनमा मात्रै पाएको थियो।