झापा / १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहमा कार्यरत प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङ र इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङमा कार्यरत प्रहरी निरीक्षक अर्जुनकुमार अधिकारी साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । उनीहरूलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले मंगलवार सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । 

प्रहरी निरीक्षक नेम्बाङले बूढीगंगा गाउँपालिका –१ बस्ने दिपेन यादवको १ वर्षीया छोरी निकिशा यादवको अपरहण काण्डमा सुक्ष्म अनुसन्धान गरेका थिए । उनले बालिकालाई विराटनगर महानगरपालिका – १२ रोडषेश चोकबाट अनु साह नाम गरेकी महिलाले अपहरण गरी लगेको सम्बन्धमा सुक्ष्म रुपमा अनुसन्धान गरी भारतको दरभंगाबाट सकुशल उद्धार गर्नुका साथै घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न सफल भएका थिए । 

OM Sai Pathibhara Hospital

त्यस्तै प्रहरी निरीक्षक अधिकारीले भोजपुर नगरपालिका–६ देउराली नजिकै ओडारे भन्ने स्थानमा भोजपुर नगरपालिका –८ पोखरेका ६० वर्षीय सूर्यबहादुर खत्रीलाई अज्ञात व्यक्तिले हत्या गरेको घटनाको अनुसन्धान गरी हत्यामा संलग्न व्यक्ति पत्ता लगाउन सफल भएका थिए । 

प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्यांकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेश भरिका प्रहरी कर्मचारीहरू मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनोट गर्दै आइरहेको छ । 

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरणसहितको फ्लेक्स प्रिण्ट १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर तथा प्रदेश प्रहरीअन्तर्गत रहेका इलाका प्रहरी कार्यालय  ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरूमा १ महिनासम्म राख्दै आएको छ ।