झापा / काठमाडौंमा बन्द गराउँदै हिँडेका १६ जना बन्दकर्ता पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूलाई उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।

काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार बन्दकर्ताले कोटेश्वरमा महासागर यातायात, थापागाउँमा नेपाल यातायात गाडी तोडफोड गरेका छन् भने डिल्लीबजारको सफ्टवारिका कलेज पनि तोडफोड गरेका छन् । 

OM Sai Pathibhara Hospital

त्यस्तै चितवनमा पनि बन्दकर्ताले ६ वटा सवारी साधनमा तोडफोड गरेका छन् भने ५ जना बन्दकर्ता पक्राउ परेका छन् ।

चितवन प्रहरीका अनुसार बन्द आह्वान कर्ताले तीन वटा बस, दुई वटा ट्रक र एउटा कार तोडफोड गरी सामान्य क्षति पु(याएका छन् । 

चितवन प्रहरी प्रवक्ता डिएसपी नरहरी अधिकारीका अनुसार सवारी साधन तोडफोड गर्ने अमित घिसिङ, राजनबाबु सिंह ,सुरज शर्मा, सुदीप पौडेल र गणेश श्रेष्ठलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै ६ जिल्लाका विभिन्न १० ठाउँमा शंकास्पद वस्तु भेटिएको छ । प्रहरीका अनुसार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित साना चार दलले मंगलबार आह्वान गरेको नेपाल बन्दका क्रममा शंकास्पद वस्तु फेलापरेको हो । शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको प्रहरीले जनाएको छ ।

आज नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले बन्दको आव्हान गरेका हुन् ।

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले गरेको एमसीसी सम्झौता, नेपाल कम्युनिष्ट पार्टीसँग भएको ३ बुँदे सहमतिको उलङ्घन, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवलगायतका नेता कार्यकर्ताहरू विरुद्ध जारी गरेको पक्राउ पुर्जी, महङ्गी र भष्टाचार विरुद्ध उनीहरूले बन्द गराएको मोर्चाले जनाएको छ ।