- दिपेन बिश्वकर्मा
बिर्तामोड / झापाको बुद्धशान्ति गाउँपालिका –४ स्थित मङ्गलबारे र सट्टाभर्नाका स्थानीय बासिन्दा आजभोलि दूषित पानी पिउन बाध्य छन् ।
गत साउन ३० गते राती बर्षासँगै गएको पहिराले खानेपानीको मुहान र पाइप लाइन बगाएपछि उनीहरु फोहोर र लेदो सरीको पानी पिउन बाध्य भएका हुन् ।
मुहान पहिरोले पुरिएर पाइप फुट्दा ट्याङ्कीमा लेदोसरि पानी आउने गरेको स्थानीयको गुनासो छ । अहिले मङ्गलबारे र सट्टाभर्नाका ६ सय १० घरधुरीले त्यही लेदोसरिको दूषित पानी पिँउदै आएका छन् ।
समस्याबारे जानकार रहँदा रहँदै पनि खानेपानी प्रति गाउँपालिका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले बेवास्ता गरेको स्थानीयको आरोप छ । धारामा धमिलो पानी आउन थालेपछि सबैले पानी छानेर उमालेर पिउने गरेको स्थानीय धर्म चौहानले बताए । उनले भने, ‘फोहोर पानीका कारण रोग लाग्ने डरले दिनहुँ पानी उमालेर पिउने गरेका छौं ।’
छ महिना अघि मात्र करिब १९ लाख रुपैयाँ लागतमा मङ्गलबारे–सट्टाभर्ना आयोजनाको निर्माण कार्य सम्पन्न भएको थियो । त्यतिबेला दुई वटा मुहानबाट तीन वटा ट्याङ्की निर्माण गरेर समितिले पानी वितरण गरेको थियो ।
समितिले ट्याङ्कीमा पसेको लेदो सफा गर्न आनाकानी गर्दा स्थानीहरू दूषित पानी पिउन बाध्य भएका हुन् । सट्टाभर्ना मङ्गलबारे खानेपानी समितिका अध्यक्ष पूर्ण लक्सम सुब्बाले चाँडैनै मुहानको पहिरो पन्छाएर ट्याङ्की सफा गर्ने बताएका छन् ।
पिउने पानी जस्तो संवेदनशिल कुरा यसरी फोहोर सरी पिउँदा हरेक प्रकारको रोगले आक्रमण गर्ने भन्दै स्थानीयले गुनासो गरेका छन् । उनीहरूले जतिसक्दो छिटो यो समस्याको समाधान गर्न समितिलाई माग गरेका छन् । त्यस क्षेत्रमा बर्सेनी पहिरो र बाढीका कारण खानेपानीमा ठुलो क्षति पुग्ने गरेको छ ।