बिर्तामोड / जनपक्षीय पत्रकार देवकुमार आचार्यको स्मृतिमा प्रेस सेन्टर झापाद्वारा स्थापित डी। कौडिन्य स्मृति पत्रकारिता पुरस्कार झापाका तीन जना पत्रकारलाई प्रदान गरिएको छ ।
कोरोना सङ्क्रमणका कारण दुई वर्षदेखि स्थगन भएको सो पुरस्कार पत्रकारहरू जीएन शर्मा, राजु पाठक र लिलाराज झापालीलाई प्रदान गरिएको हो ।
२०७७ सालको पुरस्कार चौतारी पोष्ट अनलाईनका सम्पादक शर्माले, २०७८ सालको पुरस्कार मेची खवर साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ झापाका सह सचिव पाठकले र २०७९ सालको पुरस्कार गोरखापत्र दैनिक झापाका समाचारदाता तथा नेपाल पत्रकार महासंघ प्रदेश १ का सदस्य झापालीले पाएका हुन् ।
बिर्तामोडस्थित गौरीशंकर स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा झापा क्षेत्र १ का प्रतिनिधि सभा सदस्य सुरेन्द्रकुमार कार्कीले उक्त पुरस्कार प्रदान गरेका हुन् । पुरस्कारको राशि जनही २१ हजार रुपैयाँ रहेको थियो ।
साहित्यकार तथा पत्रकार डी। कौडिन्यलाई तत्कालीन शाही सेनाले २०५९ साल साउन ७ गते पक्राउ गरी चारआलीस्थित व्यारेकमा पुर्याएर हत्या गरेको थियो । उनकै स्मृतिमा प्रेस सेन्टर झापाले डी। कौडिन्य स्मृति पत्रकारिता पुरस्कार स्थापना गरेको थियो ।
यो पुरस्कारबाट यस अघि चन्द्र भण्डारी, लीला बराल, दीपिन राई, विमल लामिछाने, केशव भट्टराई पुरस्कृत भइसकेका छन् ।