झापा / मेट्रिक पद्धतिमा आधारित नाप तौलको स्टान्डर्ड कायम गरी प्रचलनमा ल्याउने व्यवस्था गर्न बनेको ऐन २०२५ लाई संशोधन गर्न ल्याइएको  ‘स्ट्यान्डर्ड नाप र तौल (पाँचौँ संशोधन ) विधेयक’ २०७८ पारित भएको छ । 

प्रतिनिधिसभाको मङ्गलबारको बैठकले राष्ट्रियसभाको सन्देश सहितको उक्त विधेयक बहुमतले पारित गरेको हो ।

OM Sai Pathibhara Hospital

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले नापतौल ऐन २०२५ लाई संशोधन गर्न ल्याइएको उक्त विधेयक पारित गरियोस् भनी सदनमा प्रस्ताव प्रस्तुत गरेका थिए।

विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको मन्त्री बडुले जवाफ दिएका थिए । सांसद प्रेम सुवाल र घनश्याम खतिवडाले उक्त विधेयकमाथि प्रस्तुत गरेको संशोधन प्रस्ताव भने सदनमा बहुमतले अस्वीकृत गरेको थियो ।

त्यस्तै बडुले सो विधेयकमा पुनरावेदन गर्नसक्ने व्यवस्थासमेत थप गरेको बताएका छन् ।

विधेयक माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री बडुले निरीक्षकले गल्ती गर्छन् भने पुनरावेदन गर्न प्रमुखमा पुग्नसक्ने र जिल्ला अदालतले गरेको निर्णयमा उच्च अदालतमा पुनरावेदनमा जान पाउने व्यवस्था थप गरिएको बताएका हुन् ।

नेपालभरि मेट्रिक प्रणालीलाई प्रयोगमा ल्याउने, आर्थिक गतिविधिमा स्वच्छता, जवाफदेहिता र प्रतिस्पर्धा तथा नापतौलको आधारभूत इकाइको परिभाषामा अन्तर्राष्ट्रियस्तरको बनाउने प्रयास उक्त विधेयकका प्रमुख उद्देश्य रहेको उनको भनाइ छ । 

बडुका अनुसार नयाँ विधेयकमा नापतौलको यन्त्रलाई दुरुपयोग गर्ने वा कमजोरी गर्नेलाई कसुरको मात्रा हेरेर नयाँ किसिमले सजायको व्यवस्था समेत गरिएको छ ।