झापा / नेपाल राष्ट्र बैंकले मूल्य विश्लेषण गरेर मात्रै एलसी र टीटी खोल्न सम्बन्ध बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ ।
पछिल्लो समय बस्तु आयात गर्दा अवैधानिक तरिकाबाट भुक्तानी हुन थालेपछि राष्ट्र बैंकले टीटी वा एलसी खोल्ने अवस्थामै उक्त बस्तुको अन्तर्राष्ट्रिय मूल्य विश्लेषण गर्न सम्बन्ध बैंकहरूलाई निर्देशन दिएको हो ।
राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै आयात तथा निर्यात व्यापारको माध्यमबाट हुन सक्ने सम्पत्ति शुद्धिकरणको कार्यलाई निरुत्साहन तथा नियन्त्रणमा सघाउ पुग्ने गरी आयातको प्रक्रिया अपनाउन निर्देशन दिएको छ ।
साथै बस्तुको अन्तर्राष्ट्रिय बजार मूल्यमा उल्लेखित मूल्यबीच तुलनात्मक विश्लेषण गरी यथार्थपरक देखिएको अवस्थामा मात्रै त्यस्ता बस्तु आयातका लागि ड्राफ्ट, टीटी वा एलसी खोल्न समेत निर्देशन दिएको छ ।
पछिल्लो समय व्यापारीहरूले बस्तुको आयात तथा निर्यात गर्दा हुन्डी र कालोधन (स्रोत नखुलेको रकम) को प्रयोग गर्ने गरेको पाइएको छ । राष्ट्र बैंकले आयातमा कडाइ गरेसँगै गैरकानूनी माध्यमबाट बस्तु आयात हुन थालेको व्यवसायीहरूको गुनासो छ ।