रूपन्देही / रूपन्देहीको ओमसतिया गाउँपालिकामा आइतबार राति एक युवकमाथि गोली प्रहार भएको छ ।
अज्ञात समूहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका –१ बेलहियाका २५ वर्षीय विकास गुरुङ घाइते भएका छन् ।
नम्बर नखुलेको पल्सर मोटरसाइकलमा सवार ३ जनाको समूहले मोटरसाइकलमै सवार गुरुङमाथि ओमसतिया –४ बसन्तपुरमा राति १२ बजे एक राउण्ड गोली हानेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पेटको बायाँतर्फ गोली लागेका गुरुङको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।
अहिले गुरुङको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । युवकमाथि गोली प्रहार गर्नु आधा घण्टा अगाडि अज्ञात समूहले नै रोहिणी गाउँपालिका –१ बाइपासस्थित सिद्धार्थ कटेजमा पेस्तोल देखाएर २ तोला सुन र केही नगद लुटेको थियो ।
गुरुङमाथि गोली प्रहार गर्ने समूह सोही लुटपाटमा संलग्न व्यक्ति हुन् वा होइनन् भन्ने यकिन भइनसकेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।