काठमाडौं / दुबई पठाइदिन्छु भन्दै ठगी गरको अभियोगमा प्रहरीले एक जनालाई आइतबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं टोखा बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका- ७ खाडिचौर बस्ने २७ वर्षीय अविनाश कार्की छन् ।  दैलेख दुल्लु घर भएका एक पुरूषलाई  वर्किङ भिसामा दुबई जानको लागि साढे ७ लाख रुपैयाँ लाग्ने र दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा आर्मस् गार्डको काम लगाइदिने प्रलोभन उनले देखाएका थिए । 

पीडितलाई मासिक एक लाख रुपैयाँसम्म तलब हुने विश्वास दिलाइ उनी ७ लाख ५० हजार रुपैयाँ ठगी फरार भएका थिए । पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं गोङ्गबुबाट उनलाई पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँ पठाइएको छ ।