•  दिपेन विश्वकर्मा
बिर्तामोड / अधिकार सम्पन्न स्थानीय तह भएसँगै यतिबेला भौतिक पूर्वाधार निर्माण गर्ने एक प्रकारको होडबाजी नै चलेको छ । स्थानीय तहले जनताको पहिलो माग भौतिक पूर्वाधार भएको भन्दै त्यसमा बढी नै श्रोत खर्च गर्ने गरेका छन् ।

तर, कुनै दीर्घकालिक योजनाबिना गरिने काम प्रयोगमा नआउने मात्र होइन, त्यसले नकारात्मक प्रभाव पार्ने अवस्था श्रृजना हुन्छ । यस्तैमा झापाको बुद्धशान्ति गाउपालिका–४ मा पर्यटकीय बजार निर्माण गर्ने भनेर गरिएको लगानी ‘बालुवामा पानी’ हालेजस्तो भएको छ । 

२ बर्ष अघि लगभग ५ लाखको लगानीमा त्यो स्थानमा पर्यटकीय बजार बनाउने भन्दै तीनवटा शौचालय र माटो समथर बनाइयोे । सडक किनारमा रहेको शिरिष फुलेर आकर्षक देखिएपछि  सामाजिक सञ्जाल प्रयोगकर्ताको त्यस स्थानमा भिडभाड लागेको थियो । फेसबुक, टिकटक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल चलाउने पर्यटकको भिड देखेर गाउँपालिकाले त्यहाँ पर्यटकीय बजार सञ्चालन गर्न पहल गर्याे ।

OM Sai Pathibhara Hospital

लगभग एक महिना समय लगाएर त्यहाँको माटो समथर बनाइयो । त्यहाँ तीनवटा शौचालय पनि निर्माण गरियो । तर, बजार लाग्नु त कता हो कता शौचालय पनि निर्माण भएदेखि आजसम्म ताला लागेको छ । त्यस स्थानमा अहिले शौचालय नै नदेखिने गरी घाँस उम्रेको छ । पर्यटकीय बजार बनाउनका लागि त्यसबेला गरेको पहल असफल मात्र भएन स्थानीय तहको रकम बालुवामा पानी हालेसरह भएको छ । 

गाउँपालिकाको लगानी सदुपयोग गर्ने विषयमा अहिलेका जनप्रतिनिधिले समेत बेवास्ता गरेका कारण लगानी खेर जाने अवस्थामा पुगेको हो । अध्यक्ष मनोज प्रसाईँले आफू भर्खरै निर्वाचन जितेर आएको हुनाले यस बारेमा अध्ययन गर्न नपाएको बताए । उनले अहिले जग्गा धनी प्रमाण पुर्जा वितरणको काम भइरहेकाले केही समय पछि प्रयोग बिहिन शौचालयलाई प्रयोगमा ल्याउन सक्दो पहल गर्ने बताए ।

निर्वतमान अध्यक्ष रमेश भुजेलका अनुसार उक्त क्षेत्रलाई पर्यटकीय बजार बनाउन खोजिएको तर कोभिड १९ का कारण योजना सम्पन्न गर्न नसकिएको हो । अहिले उक्त क्षेत्रमा स्थानीय सरकारको लगानीमा निर्माण भएको भौतिक संरचना प्रयोगमा नआउँदा मानिसहरू बाहिर नै दिशा पिसाब गर्न बाध्य छन् । शौचालयमा पानीको समस्या र रेखदेख गर्ने मानिस नहुदाँ शौचालयको यो गति भएको स्थानीयको भनाई रहेको छ ।

बुद्धशान्ति गाउँपालिकाका लेखा अधिकृत अनिल घिमिरेका अनुसार उक्त क्षेत्रमा शौचालय र पर्यटकीय बजार निर्माणका लागी कुल ४ लाख ९६ हजार लगानी भएको छ ।

शौचालय व्यवस्थापनमा स्थानीय सरकारको ध्यान जान सकेको छैन । गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद खतिवडा सँग यस विषयमा कुराकानी गर्दा यो विषयलाई समाधान गर्न तत्काल कार्यपालिका बैठकमा प्रस्ताव लाने बताएका छन् ।