बिर्तामोड / झापाको शिवसताक्षीस्थित -७ सताक्षी खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी -९ आइतबारेकी सुस्मा सुन्दासकी ११ वर्षीया छोरी एन्जिला सुन्दास र सोही स्थानका ध्रुव राईका छोरा १२ वर्षीय सिकुम राइ रहेका छन् ।
बिहीबार बेलुका ४ बजे पौडी खेल्न भनेर हिँडेका उनीहरु अबेरसम्म नआएपछि खोजतलास गर्दा कनकाई सिँचाइ नहरको डिलमा उनीहरूको कपडा र चप्पल फेला परेको थियो ।
इलाका प्रहरी कार्यालय झिलझिल र अस्थाई प्रहरी पोष्ट माईधारबाट गएको प्रहरी टोली र स्थानीयबासीले राती ९ :१५ बजे कपडा फेला परेको स्थानभन्दा करिब ४ किलोमिटर पश्चिम शिवसताक्षी -७ स्थित सताक्षी खोलामा डुबेको अवस्थामा उनीहरूको शव फेला पारेको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।