झापा / बाराको महागढीमाई नगरपालिका- ३ र १० गंजभवानीपुर टोलस्थित विभिन्न घरमा सञ्चालन भइरहेका मदिरा पसलबाट प्रहरीले अवैध घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले करिब १० हजार लिटर अवैध घरेलु मदिरा र करिब ८० हजार लिटर मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बुधबार दिउँसो प्रहरीले नष्ट गरेको हो ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले स्थानीय प्रतिनिधिहरूको रोहवरमा खोजी गर्दा घरभित्र १० र १२ हजार लिटर भन्दा बढी भण्डारण गर्न सकिने पक्की अण्डरग्राउण्ड ट्याङकीहरू निर्माण गरी अस्वस्थकर र न्यून गुणस्तरको रक्सी उत्पादन गर्न लुकाई छिपाई भण्डारण र सञ्चालन गरिरहेका १७ वटा अवैध भट्टीहरू उक्त मदिरा तथा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ नष्ट गरेको हो ।
साथै रक्सी उत्पादन गर्ने मेसिन, भाँडाकुँडा र ड्रमहरू नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको र आगामी दिनमा समेत यस्ता कामलाई निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।