काठमाडौँ / हुन्डी कारोबारमा संलग्न तीन जना राजधानीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको राजस्थान घर भएका राजु अग्रवाल, सिन्धुपाल्चोकको मेलम्चीका रामहरि दुलाल र रौतहटका सुदीप आचार्य रहेका छन् ।
पक्राउ पर्नेमा एक भारतीय नागरिक र दुई नेपाली हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले सोमबार साँझ राजधानीको ठहिँटीबाट तीन जना हुन्डी कारोबारीसहित नगद ७४ लाख बरामद भएको बताए । पक्राउ परेकाको साथबाट २६ लाख ९६ हजार रुपैयाँ बराबरको चेक समेत बरामद भएको कोइरालाले जानकारी दिए । पछिल्लो समय राजधानीमा हुन्डी कारोबारी सक्रिय हुन थालेका छन् । प्रहरीले उनीहरूमाथि निगरानी बढाएको जनाएको छ ।