झापा  / निर्वाचन आयोगले मंसिर ४ मा हुने संघीय तथा प्रदेश सभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । सोमबार बसेको बैठकले निर्वाचन कार्यतालिका स्वीकृत गरेको हो।

जसअनुसार असोज ११ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नियुक्ति गरिनेछ भने असोज २१ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना र असोज २३ गते मनोनयन गर्दाको कार्यक्रम तय गरिएको छ । आयोगको कार्यतालिका अनुसार दसैँको पूर्णिमाको दिन उम्मेदवारी दर्ता हुने भएको छ ।

OM Sai Pathibhara Hospital

प्रत्यक्षतर्फ १६५ प्रतिनिधि सभा तथा ३३० प्रदेश सभा सदस्य पदका लागि ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछन् ।

उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन गरी असोज २८ गतेदेखि मतपत्र छपाइ सुरु हुने आयोगले जनाएको छ । आयोगका अनुसार मतपत्र जनक शिक्षा सामग्री केन्द्रले छाप्नेछ ।

असोज २८ गतेदेखि मङ्सिर १ गतेसम्म मतदाता शिक्षा, मतदान सामग्री ढुवानी, मतदान अधिकृत र सहायक मतदान अधिकृतको नियुक्ति, मतपत्र ढुवानी, मतदान अधिकृतलाई निर्वाचन सामग्री हस्तान्तरण, उम्मेदवार तथा राजनीतिक दलको प्रचारप्रसार अवधि तोकिएको छ । आयोगका अनुसार मङ्सिर १ गते राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाइने छ ।

समानुपातिकतर्फको भने साउन ३० मा कार्यालय स्थापना हुनेछ। असोज २ र ३ गते दलहरूले उम्मेदवारको बन्द सूची पेश गर्नुपर्ने छ । 

कात्तिक २७ मा मतपत्र ढुवानी गरिने छ भने मङ्सिर ४ गते बिहान सात बजेदेखि पाँच बजेसम्म मतदान हुनेछ । 

यो अवधिमा ७६ वटा कार्यक्रम हुने आयोगले जनाएको छ । त्यसमध्ये केही कार्यक्रम आवश्यकता अनुसार परिवर्तन हुन सक्ने आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।