भोजपुर / जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकल चोरेर बिक्री वितरण गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरले सोमबार पत्रकार सम्मेलन गरेर मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जनालाई सार्वजनिक गरेको हो ।
प्रहरीले गत असार १० गते भोजपुरको पौवादुङमा गाउँपालिका श्यामशिलाका राजेन्द्र तामाङको चोरी भएको मोटरसाइलसहित खाँदबारी नगरपालिका १० बस्ने २६ वर्षीय निराजन गौतम र २५ वर्षीय टीकाराम तिवारीलाई पक्राउ गरेको छ ।
त्यस्तै असार २३ गते अरुण गाउँपालिकाबाट हराएको फत्तसिं राईको मोटरसाइलसहित सङ्खुवासभाको पाँचखपन नगरपालिका –२ का २३ वर्षीय रविकिरण राईलाई र जेठ ८ गते भोजपुरको देउरालीबाट स्थानीय बालम राईको चोरी भएको मोटरसाइकलसहित खाँदबारी –७ बस्ने २५ वर्षीय मौसम तामाङ र सभापोखरी गाउँपालिका –३ का २८ वर्षीय उपेन्द्र तामाङ पक्राउ परेका छन् ।
त्यसैगरी भोजपुर बजारमा पार्किङ गरेको ठाउँबाट गिरेन्द्र खड्काको मोटरसाइल चोरी गर्ने खाँदबारी नगरपालिका –१ का ४० वर्षीय रोहितमान राईलाई प्रहरीले पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको हो ।
उनीहरूले सङ्खुवासभाका दुर्गम ठाउँमा लगेर नम्बरप्लेट तथा पार्टपुर्जा परिवर्तन गरेर मोटरसाइकल चलाएको पाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख राजकुमार राईले जानकारी दिए ।
राईका अनुसार उनीहरुले चोरीका मोटरसाइकल २५ हजारदेखि ७० हजारसम्ममा बिक्री गरेको पाइएको छ ।
प्रहरीले मोटरसाइल किन्ने तथा पुर्जा परिवर्तनमा सहयोग गर्ने ग्यारेजवालालाई समेत नियन्त्रणमा लिएको राईले बताए । चोरीको योजना बनाउने मुख्य योजनाकार बमबहादुर न्यौपानेलाई इटहरीबाट पक्राउ गरी भोजपुर लाने तयारी भइरहेको छ ।






































