झापा / बागमती प्रदेश सरकारले सवारी साधनको कर तिर्न र नवीकरण गर्न सकिने अनलाइन प्रणालीको सुरुवात गरेसँगै ब्लुबुक अर्थात बिल बुक नवीकरण गर्न र कर तिर्न अनलाइनमार्फत घरैमा बसेर गर्न सकिने भएको छ ।
यो प्रणाली लागू भएसँगै यातायात कार्यालयमा गएर घण्टौँ लाइन लाग्नु पर्ने झन्झटको अन्त्य भएको छ भने ब्लुबुक समेत बोकिरहनु पर्ने झन्झट हटेको छ । सवारी साधनको कर तिरे वा नतिरेको बारेमा ट्राफिक प्रहरीले क्यूआर कोड स्क्यान गरेरै हेर्न सक्ने छन् । यद्यपि एक पटक भने भेरिफाइ गर्नका लागि यातायात कार्यालयमा पुग्नु पर्नेछ ।
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले विकास गरेको यातायात व्यवस्था सूचना प्रणाली (टीएमआईएस) र नागरिक एपबाट कर तिर्न सकिन्छ ।
यसरी तिर्न सकिन्छ टीएमआईएसबाट कर
टीएमआईएसबाट कर तिर्न शुरुमा https://tmis.bagamati.gov.np/ मा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि दाँया साइडमा सवारीधनी लगइन पोर्टल देखिन्छ ।
त्यहाँ नयाँ दर्ता भन्ने एउटा अप्सन देखिन्छ । त्यसमा क्लिक गरेपछि आफ्नो विवरण राखेर एकाउन्ट बनाउन सकिन्छ । अकाउन्ट बनाएर लगइन गरेपछि त्यहाँ एउटा प्लस आइकन देखिन्छ सो आइकनमा क्लिक गरेपछि आफ्नो ब्लुबुक अनुसारको विवरण थपेर आफ्नो प्रोफाइल अपडेट गर्न सक्नुहुनेछ ।
यदि विवरण मिलेन भने आफै विवरण सच्याउन पनि सकिन्छ । अब त्यहाँ भुक्तानी गर्नुपर्ने कर रकम देखिन्छ । आफ्नो सवारीसाधनको बिमा कायम रहेको नरहेको यकिन गर्न सकिन्छ । यदि सवारीसाधनको बिमा गरेको छैन भने अनलाइनमै उपलब्ध भएको बिमा भर्न सकिन्छ । त्यसपछि कर तिर्ने अप्सन देखिन्छ ।
सो अप्सनमा क्लिक गरेपछि कर तिर्नुपर्ने रकम देखाउँछ । त्यसपछि आफूले कुन कार्यालयमा कर तिर्नुपर्ने हो छनोट गर्न सकिन्छ । त्यहाँ एउटा विवरण देखिन्छ जहाँ कनेक्ट आईपीएस क्लिक गरी रकम तिर्नुहोस्मा क्लिक गर्नुपर्ने हुन्छ ।
त्यसपछि कनेक्ट आईपीएस लगइन गरेर कुन बैंक खाताबाट रकम तिर्ने हो छनोट गरी सबमिट गर्नुपर्ने हुन्छ र त्यसमा ओटिपी राखेर भुक्तानी गर्न सकिने छ ।
रकम भुक्तानी भएलगत्तै रसिद डाउनलोड गर्ने अप्सन देखाउने छ । उक्त रसिदमा क्यूआर कोडसहित सवारीसाधनको सम्पूर्ण विवरण हुन्छ ।
उक्त डाउनलोड गरेको रसिद सवारीसाधनमा टाँस्न सकिन्छ । जसबाट ट्राफिक प्रहरीले मोबाइल एपबाट उक्त कोड स्क्यान गरी कर तिरे नतिरेको यकिन गर्नेछन् । यो कोड राखेपछि ब्लुबुक बोकेर हिँड्नु पर्ने झन्झटबाट मुक्त भइन्छ ।
यो सबै सेवा नागरिक एपबाट समेत लिन सकिन्छ । अनलाइन भुक्तानी सम्बन्धी कार्यविधिअनुसार करको रकम अनलाइनबाट भुक्तानी गर्न सकिनेछ ।
तर, उक्त बिल बुकको अद्यावधिक, भेरिफाइ गर्नका लागि एक महिनाभित्र यातायात कार्यालय पुग्नु पर्नेछ । एक पटक भेरिफाइ गरिसकेपछि अर्को वर्षदेखि भने यातायात कार्यालय पुग्नुपर्ने छैन ।






































