बिर्तामोड / सुनसरीबाट लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न ४ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका -४ बस्ने २७ वर्षीया सृजना ओझा, सोही स्थानका २८ वर्षीय सुशान्त घिमिरे, धनकुटा शहिद भूमि गाँउपालिका ५ घर भई हाल इटहरी उपमहानगरपालिका ५ मादेन मार्ग टोलमा डेरा गरी बस्ने ३४ वर्षीय विर्त सिंह राई र उनको श्रीमती ३५ बर्षीया पवित्रा राई रहेका छन् ।
गत २० गते बेलुका ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले ब्राउन सुगरको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईटहरी उपमहानगरपालिका ६ स्थित भाटे एण्ड खाजा घरबाट ब्राउन सुगर १ ग्राम १५० मिली ग्राम ७ हजार नगद सहित सृजना ओझा र सुशान्त घिमिरेलाई पक्राउ गरिएको थियो ।
पक्राउ परेका उनिहरुबाट ब्राउन सुगर बिर्त सिंह राई र उनकी श्रीमती पविता राईबाट खरिद गरिएको भन्ने कुरा अनुसन्धानबाट खुले सँगै प्रहरी टोलीले बिर्त सिंह राईलाई इटहरी उपमहानगरपालिका -५ स्थितमा फेला पारी शरीर तलासी लिँदा ब्राउन सुगर ६ ग्राम ७६० मिलिग्राम फेला परिएको हो ।
थप ब्राउन सुगर ३३ ग्राम ९० मिलिग्राम राई दम्पतीको डेरामा खानतलासी लिदाँ करुवा भित्र लुकाई राखेको अवस्थामा फेला पारिएको थियो भने डिजिटल तराजु र २७ हजार ३ सय नगद समेत बरामद भएको छ । लागूऔषध कारोबारमा संलग्न रहेका चारै जना उपर इलाका प्रहरी कार्यालय इटहरीबाट सम्मानित सुनसरी जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको छ ।