झापा /  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाभियोग सिफारिस समितिमा पठाइएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले बहुमतले पारित गरेर उक्त प्रस्तावलाई सिफारिस समितिमा पठाएको हो । 

प्रधानन्यायाधीश जबराविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले फागुन १ गते प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए । महाभियोग दर्ता भएपछि जबरा स्वतः निलम्बनमा परेका थिए ।

OM Sai Pathibhara Hospital

महाभियोग सिफारिस समितिमा विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे, कृष्णभक्त पोखरेल, मिनबहादुर विक, रामबहादुर विष्ट, यशोदा सुवेदी, रेखा शर्मा, कल्याणी खड्का, एकवाल मियाँ र प्रमोद साह सदस्य छन् । 

महाभियोगमाथि छलफलका क्रममा एमालेका सांसदहरूले लामो समयसम्म प्रस्तावमाथि छलफल नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

जबरा लोकतन्त्र, मानवअधिकार, जनताको न्याय‚ विधिको शासन, संवैधानिक सर्वोच्चता एवम् स्वतन्त्र निष्पक्ष र जिम्मेवार न्यायालयको जगेर्ना गर्न असक्षम रहेको भन्दै ९८ सांसदले हस्ताक्षर गरेर महाभियोग दर्ता भएको थियो ।