झापा / पूर्वी पहाडमा लगातार वर्षात्सँगै सप्तकोसी नदीमा बाढीका आएपछि हाई अलर्ट जारी गरिएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार कोशीमा पानीको बहाव बढ्दै गएकाले हाई अर्लट जारी गरिएको हो । 

शनिवार दिउँसो १ बजेसम्म पानीको बहाव मापन गर्दा २ लाख १० हजार क्युसेक बहाव पुगेको यादवले बताए । पानीको बहाव बढ्दै आएपनि सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको कारण कोशीको पूर्वी भागमा तत्कालै प्रभाव नपार्ने उनको भनाइ छ ।

OM Sai Pathibhara Hospital

कोशीको श्रीलंका टापुमा भने जोखिम बढेको छ । बाढीको जोखिम धेरै रहेको स्थानमा तत्काल उद्धारका लागि संयन्त्र व्यवस्थापन गरिएको छ ।

बराह क्षेत्रमा देखिएको पानी कोशी ब्यारेजको मापनमा आइपुग्दा ५ लाख क्युसेकको हाराहारीमा पुग्न सक्ने अनुमान गरिएको छ ।

गत बुधबार बिहान नदीमा आएको बाढी उदयपुरको बेलका नगरपालिका –८ लाहुरे खोच डुम्रीबोटबाट बस्तीमा पस्दा उक्त पालिकाको १, २, ३, ८ र ९ वडाको धौरीटापु, श्रीलंका टापु, भागलपुर, करैया, तपेश्वरी लगायत बराहक्षेत्र नगरपालिका– ६ का केही बस्तीहरू डुबानमा परेका थिए । 

बाढीका कारण बस्तीहरू डुबानमा पर्दा तटीय क्षेत्रका २० हजारभन्दा बढी जनसंख्या विस्थापित भएका थिए । विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । 

नदी तटीय क्षेत्रका स्थानीयवासी वर्षौँदेखि यो समस्यासँग जुध्दै आएका छन् । कोसी सम्झौता अनुसार भारत सरकारले नदिको दुवैतर्फ स्थायी तटबन्ध नबनाएका कारण पछिल्लो केही वर्षयता बाढी र डुबानको समस्या झन् बढेको स्थानीयवासी बताउँछन् । 

नदिले झन्डै दुई महिनायता पश्चिम धार कटान गर्दै आएको थियो । सप्तकोसी नदी बराह क्षेत्र नगरपालिकाको मध्यभागबाट बग्छ । बर्खामा नदीले वर्षेनी धेरै जनधनको क्षति गरेको छ ।