- अनिता बिष्ट
बिर्तामोड / बिर्तामोड नगर युवा सञ्जालले आज नगर भित्रका वडाहरूमा गठन भएका युवा क्लबका पदाधिकारीहरूसँग परिचयात्मक कार्यक्रम गरेको छ । युवा सञ्जालले बिर्तामोड नगरपालिकाको सभा हलमा उक्त कार्यक्रम गरेको हो ।
नगर युवा सञ्जालका अध्यक्ष उज्जल भट्टराई र सचिव शिक्षा प्रसाईँको नेतृत्वमा परिचयात्मक कार्यक्रम गरिएको हो । कार्यक्रममा बिर्तामोड नगरक्षेत्रभित्र वडाहरूमा गठित युवा क्लबका विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सञ्जालका अध्यक्ष भट्टराईले युवा सञ्जाल किन र के को लागि गठन गरिन्छ र यसले युवाहरूको लागि के कस्ता काम गर्दछ भन्ने बारेमा प्रस्ट्याएका थिए । यस सञ्जालमा १६ वर्ष देखि माथि र २४ वर्ष मुनिका नगर भित्रका सबै युवाहरू सदस्य बन्न सक्ने अध्यक्ष भट्टराईले बताए ।
त्यस्तै संजालकी सचिव प्रसाईँले युवा सञ्जाल भनेको के हो ?, यसको स्थापना कहिले भएको हो ?, नेपालमा यस्को सुरुवात कहिलेबाट भयो ? र युवा संजाल किन आवश्यक छ ? भन्ने बारेमा जानकारी गराएकी थिइन् ।
प्रसाईँका अनुसार नगर युवा सञ्जालले युवा वर्गको नेतृत्व तथा क्षमता विकास गरी देशको शासन सञ्चालन प्रणाली र सुशासन सम्बन्धमा युवालाई सुसूचित र सशक्तीकरण गर्दै उनीहरूको सर्वाङ्गीण विकासका लागि युवामैत्री नीति, योजना, कार्यक्रम र प्राथमिकता निर्धारण गर्ने गर्दछ ।
त्यस्तै यसले युवाका मुद्दाहरूको बहस पैरवी केन्द्रको रुपमा विकास गर्ने, युवालाई सामाजिक दायित्व र कर्तव्य प्रति जिम्मेवार बनाउनका लागि नमूना युवा संसद् तथा संसदीय अभ्यासका माध्यमबाट युवा परिचालन गर्ने गरेको प्रसाईँले बताइन् ।
नगर युवा संजाललाई राष्ट्रिय युवा परिषद्ले परिचालन गर्ने गर्दछ ।
राष्ट्रिय युवा परिषद् भनेको के हो ?
नेपालमा युवा विकासका लागि २०६६ सालमा पहिलो पटक र २०७२ मा परिमार्जित राष्ट्रिय युवा नीति २०७२ जारी गरियो । त्यसलाई प्रभावकारी रुपमा लागु गर्ने उद्देश्यले २०७२ सालमा युथ भिजन २०२५ तथा दश वर्षे रणनीतिक योजना जारी गरियो ।
यो दस्तावेज २०७२ असोज १९ गते नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत भएको थियो । यसरी नेपालमा पहिलो पटक युवा विकासका लागि सरकारी स्तरबाट तयार भएको ठोस कार्ययोजना सहितको दस्तावेजको रुपमा युथभिजन रहेको छ ।
यसरी राष्ट्रिय युवा नीति २०७२ र युथभिजन २०२५ तथा दशवर्षे रणनीतिक योजनामा परिलक्षित गरिएका युवालक्षित योजना र कार्यक्रमहरूलाई समस्त नेपाली युवाको विकास र परिचालनका लागि केन्द्रीय सरकारी निकायको रुपमा राष्ट्रिय युवा परिषद् ऐन २०७२ बमोजिम नेपाल सरकारले राष्ट्रिय युवा परिषद स्थापना गरेको हो ।
यस परिषदले नेपाल सरकारले स्वीकृत गरेका युवालक्षित कार्यक्रमको संघीय तह, प्रदेश तह र स्थानीय तहमा कार्यान्वयन तथा सोको लागि सहजीकरण गर्नुका साथै अन्य सरकारी तथा गैरसरकारी निकायहरूबाट सञ्चालित युवालक्षित कार्यक्रमहरूको समन्वय सहकार्य र सहजीकरण गर्ने काम समेत गर्दछ ।