- अनिता बिष्ट
बिर्तामोड / झापाको अर्जुनधारा नगरपालिका –६ को अदुवाखोला पुल बाढीका कारण जोखिममा परेको छ । व्यवस्थित ढल नहुँदा बाढीले पुल जोखिममा परेको हो ।
अव्यवस्थित प्लटिङका कारण जम्मा भएको पानी निकाश नहुँदा त्यसले पुल र सँगै सडकको पनि कटान सुरु गरेको हो । वर्षातको समयमा बुधबारे देखिको पानी शनिश्चरे हुँदै जम्मा भएर आउँदा न्यौपाने बस्ती समेत जोखिममा परेको छ ।
अघिल्लो वर्षसम्म बर्सातकै समयमा पनि सो ठाउँमा ढलको पानी आउँदैन थियो । तर, खेतीको जग्गा मासेर अव्यवस्थित तरिकाले प्लटिङ बनाएकै कारण अहिले उक्त बस्ती डुबानमा समेत परेको छ । सामान्य वर्षा हुँदा पनि ढलको पानी ह्युमपाइपबाट भरिएर सडकबाट बग्दा बस्तीका बालबालिकाहरूलाई विद्यालय जान समेत सकस पर्ने गरेको छ ।
वर्षातकाे समयमा ढलको पानीले सडकमा आवतजावत गर्न अवरोध गर्दा बालबालिकाहरूलाई विद्यालय पठाउनका लागि गाडीको सहायता लिनु परेको स्थानीय राजकुमार न्यौपानेको गुनासो छ ।
ढललाई व्यवस्थित बनाउँन र ढलले कटान गरेको जमिनमा तारजाली गर्न पटक–पटक वडा अध्यक्ष हरिशचन्द्र बास्तोलासँग कुरा गर्दा वडाध्यक्ष बाँस्तोला पूर्व वडा अध्यक्षलाई दोषी देखाउँदै आफ्नो जिम्मेवारीबाट भाग्ने गरेको स्थानीय राजन अधिकारीले बताए ।
अधिकारीका अनुसार यसअघि पुल आसपासमा ढलको पानी बग्ने गरेपनि जमिन भने कटान गरेको थिएन । तर, साउनको पहिलो हप्तादेखि परेको वर्षासँगै आएको ढलको निकासले पुलको आसपसको सडक कटान गरेको छ । पानीले सडक कटान गर्दा पुष्पलाल–कप्तनबारी सडकखण्डको पुललाई समेत असर पर्न थालेको छ । ढलले सडक कटान गरेसँगै सडकको छेउमा पहिरो जान सुरु गरेको छ ।
यसरी नै जनप्रतिनिधिले वेवास्ता गर्ने हो भने केही दिन लगातार वर्षा हुँदा पुल पनि बाढीले बगाउने अवस्था आउन सक्छ । यो विषयमा वडाध्यक्ष बास्तोलासँग कुरा गर्दा तारजाली गर्नु भनेको विजुलीको सुइच अन गर्नुजस्तो सजिलो नभएको भन्दै समस्या समाधानका लागि मेयरलाई गुहार्न सुझा दिए ।
पूर्व जनप्रतिनिधिहरूले बितेको पाँच वर्ष कुनै काम नगरेको वडाअध्यक्ष बाँस्तोलाको आरोप छ ।