झापा / नेपाल प्रहरीका ६३ जना प्रहरी अधिकारीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
विभिन्न मितिमा बढुवा भएका ५७ जना र खुल्ला प्रतियोगिताद्वारा नवनियुक्त प्राविधिक प्रहरी निरीक्षक ६ जना गरी ६३ जना प्रहरी अधिकृतहरूलाई प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बिहीबार दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
दर्ज्यानी चिन्ह प्रदान गरिएकामा प्रशासनतर्फका प्रहरी नायब उपरीक्षक ३३ जना, प्राविधिकतर्फका प्रहरी नायब उपरीक्षक ९ जना र प्राविधिकतर्फका प्रहरी निरीक्षक २१ जना रहेका छन्।
कास्कीको माछापुछ्रे गाउँपालिकाका राजेन्द्र प्रसाद अधिकारी र उनका छोरा ध्रुव अधिकारीले सँगै डीएसपीको फूली लगाएका छन्। गत साउन ३ गते फरक फरक समूहबाट उनीहरु डिएसपीमा बढुवा भएका थिए।
राजेन्द्र साधारण समूह तर्फ र ध्रुव प्राविधिक समूह तर्फ डीएसपीमा बढुवाका लागि सिफारिस भएका थिए। उनीहरु २४ वर्षको फरकमा प्रहरीमा भर्ना भएर एकैदिन डिएसपीमा बढुवा भएर सँगै फूली लगाएका हुन्।
राजेन्द्र २०५१ सालमा प्रहरी सहायक निरीक्षकमा र ध्रुव २०७५ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका हुन्। ध्रुव राजेन्द्रका कान्छा छोरा हुन्।