काठमाडौँ / सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई बर्खास्त गरेको हो । 

यस भन्दाअघि अधिकारीलाई हटाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानविन समिति गठन गर्नुका साथै दुई पटक स्पष्टीकरण समेत सोधिसकेको थियो ।

OM Sai Pathibhara Hospital

कानुनी आधार र औचित्यबिना ट्वीनेटर विमान भाडामा दिएको, निगमको जहाज साउदी अरब सञ्चालन गर्ने प्रयोजनको लागि भ्रमण कार्यमा विना निर्णय जम्बो टोली सहभागी गराई निगमलाई ठूलो वित्तीय हानी नोक्सानी पुर्याएको उनीमाथि आरोप लागेको थियो । 

त्यस्तै सार्वजनिक प्रतिस्पर्धा नगराई एउटा संस्थालाई मात्र सहभागी गराई सिधै टिकट बिक्री गर्ने कार्य गरेको र यस कार्यमा कार्यकारी अध्यक्ष आफै संलग्न भई व्यक्तिगत फाइदा लिएको देखिएको, निगमका पदाधिकारीहरू र कर्मचारीहरूलाई अनुशासनमा राख्न नसकेको र सञ्चालक समितिको बैठकमा सबै पदाधिकारीहरूलाई समेटी बैठक सञ्चालन गर्न नसकेको लगायतका विषयमा उनलाई स्पष्टीकरण सोधिएको थियो ।