बिर्तामोड /  झापाको गौरादह नगरपालिका –९ स्थित कमल खोलामा पौडी खेल्ने क्रममा मंगलबार बेपत्ता भएका युवक मृत फेला परेका छन् । 

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक बसन्त पाठकका अनुसार कमल गाउँपालिका –१ का १८ वर्षीय उज्ज्वल खरेल आज (बुधबार) बिहान मृत फेला परेका हुन् । 

OM Sai Pathibhara Hospital

खरेल मंगलबार दिउँसो गौरादह नगरपालिका –९ स्थित बैगुन्धुरा सरङ्पाडा भएर बग्ने कमल खोलामा साथीहरूसँग पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा खरेल बेपत्ता भएका थिए ।  

१ नम्बर प्रदेश विपद् व्यवस्थापन कार्यालय भद्रपुर, इलाका प्रहरी कार्यालय झिलझिले, सशस्त्र बेस क्याम्प बैगुनधुरा र अस्थायी प्रहरी चौकी बैगुन्धुराको टोलीले बुधबार बिहान साढे ८ बजे खरेलको शव पानी मुनि डुबिरहेको अवस्थामा फेला पारेको डीएसपी पाठकले बताए।