बिर्तामाेड / पूर्वी पहाडमा लगातार वर्षात्सँगै सप्तकोसी नदीमा आएको बाढी उदयपुरको बेलका नगरपालिका –८ लाहुरे खोच डुम्रीबोटबाट बस्तीमा पसेको छ ।
झन्डै दुई महिनायता पश्चिम धार कटान गर्दै आएको सप्तकोसीको बाढी आज बिहान ४ बजे डुम्रिबोटेबाट पश्चिमतर्फ पस्दा बेलका नगरपालिकाको १, २, ३, ८ र ९ वडाको धौरीटापु, श्रीलंका टापु, भागलपुर, करैया, तापेश्वरी लगायत बराहक्षेत्र नगरपालिका– ६ का केही बस्तीहरू डुबानमा परेका छन् ।
नगरपालिकाले दुई दिनयता ती क्षेत्रका सर्वसाधारणलाई सुरक्षित स्थान तर्फ जानका लागि सूचना जारी गरेका कारण मानवीय क्षति भने नहुने आशा गरिएको नगर प्रमुख अशोक काकीले बताए । कार्कीका अनुसार अब तटीय क्षेत्रका २० हजारभन्दा बढी जनसंख्या विस्थापनकाे उच्च जोखिममा छन् ।
अहिले करिब २० मिटर कटान गरेर कोसीको भङालो पश्चिम पसेको छ । कटान जारी रहेकाले झन्डै ३ सय मिटर कटान गरेर जाने सम्भावना भएको हुनाले धारै परिर्वतन हुन सक्ने खतरा रहेको बताइएको छ ।
धारै परिर्वतन हुँदा छिमेकी जिल्ला सप्तरीको सप्तकोसी र कञ्चनरूप नगरपालिकाका साथै सुनसरीमा समेत क्षति पुग्ने बताइन्छ ।
नदीको बाँध फुटेर गाउँ पस्दा के कति क्षति भएको छ त्यसको यकिन तथ्यांक आउँन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादवले जानकारी दिए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीले उद्धारको काम गरिरहेको प्रजिअ यादवकाे भनाइ छ । सुनसरीका प्रमुख जिल्ला अधिकारीमार्फत कोशी ब्यारेजका बाँकी ढोका खोल्न आग्रह गरिएको उनले बताए ।
नदी तटीय क्षेत्रका स्थानीयवासी वर्षौँदेखि यो समस्यासँग जुध्दै आएका छन् । कोसी सम्झौता अनुसार भारत सरकारले नदिको दुवैतर्फ स्थायी तटबन्ध नबनाएका कारण पछिल्लो केही वर्षयता बाढी र डुबानको समस्या झन् बढेको स्थानीयवासी बताउँछन् । नदी गाउँतिर सोझिएकोले ढुक्कले निदाउने अवस्था नभएको उनीहरूको गुनासो छ ।
सप्तकोसी नदी बराह क्षेत्र नगरपालिकाको मध्यभागबाट बग्छ । बर्खामा नदीले वर्षेनी धेरै जनधनको क्षति गरेको छ । बाढी आउँदा घर जग्गा डुबाउने र घट्दा किनारामा जमिन कटान तीव्र रुपमा गर्दा सप्तकोसी किनाराका हजारौँ बासिन्दा घरबारविहीन भएका छन् ।