बिर्तामोड / झापाका दुई छुट्टाछुट्टै स्थानबाट अवैध रुपमा भारत तर्फ लैजाँदै गरेको ३३५ केजी सुपारी बरामद भएको छ । अवैध रुपमा सुपारी चोरी निकासी भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका- ६ बाट सोमबार बिहान १७५ केजी सुपारी बरामद गरेको तथा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर- ६ बाटै १६० केजी सुपारी बरामद गरेको हो ।

बरामद भएको सुपारी आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । केही समय अगि मोरङ प्रहरीले विराटनगरबाट भारततर्फ लैजाँदै गरेको इन्डोनेसियाबाट आयातित ८ करोड ६३ लाख ८१ हजार ५ सय ६८ रुपैयाँ मूल्य बराबरको आठ ट्रक सुपारी बरामद गरेको थियो ।