काठमाडौँ / हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ का थोरै स्थानहरूमा र बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो  देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।  
देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १ र  मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । 
विभागका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना हुँदा उक्त भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम छ । 
साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने र दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक शतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।