काठमाडौँ / राहदानी बनाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका- ५ घर भई चाबहिल बस्ने ३३ वर्षीय रामबहादुर बोगटी, धनकुटा पाख्रिबास नगरपालिका- १० चुन्वाङका २८ वर्षीय श्यामकुमार राई, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका- २ का २२ वर्षीय राम पौडेल र गोकर्णेश्वर नगरपालिका- २ सुन्दरीजलका ४१ वर्षीय विवेक गुरुङ रहेका छन् ।
प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका- ११ को त्रिपुरेश्वरस्थित राहदानी विभाग नजिकैबाट चार जनालाई पक्राउ गरेको हो ।
गुरुङ रोज बर्ड नामक फोटो स्टुडियोका सञ्चालक समेत हुन् । उनीहरूले राहदानी विभागमा राहदानी बनाउन आएका सेवाग्राहीहरूलाई तुरुन्तै एकै दिनमा राहदानी बनाइदिन्छु भनेर फकाइरहेका थिए । त्यसरी राहदानी बनाई किर्ते तथा ठगी गरिरहेको भन्ने सूचना पाएपछि प्रहरीको टोली खटिएको थियो ।
सो सूचनाको आधारमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूबाट अनलाइन फारमका ३२ वटा फारम, तीन वटा ल्यापटप लगायत बरामद गरेको हो । उनीहरूमाथि प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।