झापा / योजनाबद्ध रूपमा बाँकेको कोहलपुर बस्ने २१ वर्षीय सर्जन बिकको हत्या गरी बिमा कम्पनीबाट २ करोड ५० लाख रुपैयाँ भुक्तानी लिने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विककी श्रीमती भनिने सपना मल्लसहित सजीव अर्याल, सरदार अहमद खाँ, टोपबहादुर राना क्षेत्री, दीपक केसी र ललिता सापकोटालाई पक्राउ गरेको हो ।
विपन्न परिवारका बिकलाई डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया लैजाने भनी सङ्गठित गिरोहले नक्कली विवाह गराइदियो । कागजी विवाहपश्चात् नक्कली पत्नी बनिन् सपना मल्ल । उनैलाई इच्छाइएको व्यक्ति राखेर रिलायन्स इन्सुरेन्समा साँढे दुई करोड रुपैयाँको बीमा गराए ।
उनको आम्दानी २ लाख रुपैयाँ प्रतिमहिना देखाइएको थियो । विवाह दर्ता र बैंकमा खाता खोल्ने समयमा मात्र सर्जन र सपनाको भेट भएको थियो । यसमा सङ्गठित समूह नै लागेर बीमा गराएका थिए ।
बीमा गरेको ३७ दिनमा मोटरसाइकल दुर्घटनामा सर्जनको मृत्यु भयो । त्यसपछि इच्छाइएको व्यक्ति सपना मल्लले प्रहरी रिपोर्ट, मृत्यु दर्ता, दुर्घटनाको प्रमाण, विवाह दर्ता प्रमाणपत्र आदि पेश गरी बीमा दाबी गरिन् ।
कानूनी प्रमाण र दाबीका आधारमा इन्सुरेन्सले रकम भुक्तानी गर्यो । तर, बिमा गर्नेको ३७ दिनमै मृत्यु हुनुले बिमा कम्पनी सशंकित भयो । साँढे २ करोड रुपैयाँ भुक्तानी गर्नुपरेको अवस्था थियो ।
सपना पतिको मृत्युले वियोगमा रहेको जस्तो देखिन्नथिन् । बीमा कम्पनीले आशंका गर्यो । अर्कोतर्फ, मोटरसाइकल दुर्घटनामा मृत्यु भएका सर्जनको लाइसेन्स नै थिएन ।
सर्जनलाई २ वैशाख २०७८ मा कोहलपुरमा मिनिबसले ठक्कर दिएको थियो । मिनीबस टोपबहादुरले चलाएका थिए । सवारी ज्यान मुद्दामा क्षेत्री २ महिना कैद सजायपछि छुटे । तर, बिमा कम्पनीको चासोका कारण सपना निगरानीमा परिन् । मिनीबस चालक पनि निगरानीमा परे ।
सीआइबीले घटनाको रहस्य खोतलिरहेको थियो । सपना मल्लको निकटताबारे अनुसन्धान थाल्यो । सञ्जीव अर्यालसँग उनको कुराकानी भएको पत्ता लाग्यो । अर्यालको चालक टोपबहादुरसँग कुराकानी भएको खुल्यो । त्यसपछि सङ्गठित गिरोहबारे धेरै तथ्य उजागर भयो ।
सङ्गठित समूहले बीमा रकम पाउन युवकलाई नक्कली विवाह गराई हत्या सम्मको घटना घटाएको रहस्य खुल्यो । यसमा मुख्य योजनाकार थिए सञ्जीव अर्याल ।
उनैले सपना मल्लको नक्कली विवाह सर्जन विकसँग गराएका थिए । मिनीबस चालक टोपबहादुर रानालाई तयार गरी मोटरसाइकल दुर्घटना गराई हत्या गराएका थिए । घटनामा खाँ, केसी र सापकोटा पनि मतियार रहेको प्रहरीको आरोप छ ।