झापा / सरकारले आयात प्रतिबन्ध लगाएको रेडबुल लगायत क्याफिनयुक्त पेय पदार्थ (इनर्जी ड्रिंक्स) अनधिकृत ढंगले नेपाल भित्राएर बिक्रीवितरण भइरहेको पाइएको छ । आयात प्रतिस्थापन गर्ने भन्दै सरकारले नेपालमा २०७६ सालदेखि नै रेडबुलल गायतका क्याफिनयुक्त पेय पदार्थ (इजर्जी ड्रिक) आयात प्रतिबन्ध लगाउँदै आएको छ ।
सरकारले गत १३ वैशाखदेखि कुरकुरे, कुरमुरे, लेज, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, जिप कार, मोटरसाइकल खेलौना, तासलगायतका १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ, जुन अहिले पनि प्रतिबन्ध नै छ । यो कदमले विदेशी मुद्राको सञ्चिति आएको कमी सुध्रने र देशको उच्च व्यापार घाटा न्यूनीकरण हुने अपेक्षा थियो । तर खुला सीमा, फितलो भन्सार संयन्त्र लगायत अव्यवस्थापनका कारण क्याफिनयुक्त रेडबुल नेपालमा निर्वाध भित्रिरहेको छ ।
सरकारको निर्णयलाई चुनौती दिँदै रेडबुलको अनधिकृत कारोबार बजारमा भइरहे पनि राज्यका निकाय भने अनदेखा गरिरहेका छन् ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता हरि पंगेनी आयात प्रतिबन्ध लगाइएको रेडबुल नेपाली बजारमा बिक्री वितरण भइरहेको स्वीकार गर्छन् । अनुगमनका क्रममा भेटिएका रेडबुल नियन्त्रणमा लिएर बिक्रीवितरणमा संलग्नहरूमाथि कारबाही गरिरहेको पनि उनले बताए ।
आयात प्रतिबन्ध लगाइएका रेडबुल लगायतका क्याफिनयुक्त पेयपदार्थ भन्सार छलेर अवैध रूपमा नेपाल भित्रिँदा एक त देशको नियमकानून कार्यान्वयनमा चुनौती थपिएको छ भने अर्कातिर राजस्वमा पनि गम्भीर असर परेको छ ।
प्रतिबन्धित वस्तु चोरी पैठारी भई नेपाल भित्रिँदा एकातिर राज्यले राजस्व गुमाएको छ भने अर्कातिर नेपाली पैसा विदेश गइरहेको छ,’ एक सरोकारवालाले भने ।
अवैध सामानको लेखाजोखा नहुने भएकाले कति मात्रामा, कुन नाका हुँदै रेडबुल भित्रियो भनेर अनुमान गर्न कठिन छ । तर जानकारहरू करोडौँको रेडबुल चोरबाटो हुँदै नेपाली बजारको पहुँचमा पुगेको बताउँछन् ।
नेपालमा थाइल्याण्ड, मलेसिया, भारतजस्ता देशबाट रेडबुल आयात हुने गरेको जानकारहरू बताउँछन् ।