बिर्तामोड / सशस्त्र प्रहरी बलमा ६८ जना प्राविधिकका लागि जागिर खुलेको छ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालय, मानवस्रोत विभागले शुक्रबार सूचना प्रकाशित गर्दै २२ जना प्रहरी निरीक्षक दर्जामा चिकित्सक र ४६ जना नायब निरीक्षक दर्जामा स्टाफ नर्सका लागि आवेदन मागेको हो।
प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक)का लागि २१ वर्ष पूरा भई ३० वर्ष ननाघेको हुनुपर्नेछ। मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा एमबीबीएस उत्तीर्ण वा सो सरह उपाधि प्राप्त गरि नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको हुनुपर्ने छ।
त्यस्तै प्राविधिक सशस्त्र प्रहरी नायब निरीक्षक (स्टाफ नर्स) का लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा कम्तीमा प्रमाणपत्र तह वा सो सरह उपाधि प्राप्त गरी नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ।
आगामी भदौ १२ गते ५ बजेसम्म रीतपूर्वक आवेदन दिन सकिनेछ। दरखास्त फारम सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, भर्ना छनोट शाखा, हलचोकमा बुझाउनुपर्ने सूचनामा उल्लेख छ।