बिर्तामोड / झापामा सर्पको डसाइबाट एक महिला स्वास्थ्य स्वयंसेविकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका- ११ स्थित बनियागाँउ निवासी ५१ वर्षीया रूपा मैनाली (उप्रेती) रहेकी छिन् ।
बिहीबार राती साढे ११ बजे उप्रेतीलाई घरभित्रै विषालु सर्पले बायाँ खुट्टामा डसेपछि घाइते भएकी उनलाई उपचारका लागि सर्प दंश उपचार केन्द्र चारआली पठाएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोडमा लगिएको र उनको सोही अस्पतालमा उपचारको क्रममा मध्यराति साढे १२ बजे मृत्यु भएको डीएसपी पाठकले बताए ।
उनी धाइजन स्वास्थ्य चौकी अन्तरगत मेचीनगर- ११ मा सामुदायिक स्वास्थ्य स्वयंसेविकाको रुपमा कार्यरत थिइन् । पारिवारिक स्रोतका अनुसार उनलाई केही समय अगिपनि बिषालु सर्पले डसेको थियो ।