झापा / रूपन्देहीको सैनामैन सालझण्डीमा घाँस काट्न जङ्गलमा गएकी १९ वर्षीया किशोरीमाथि बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४८ वर्षीय नीलमणि नेपाली रहेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए ।
सैनामैन नगरपालिकाको तुलबुलिया खोला पूर्वको नेवारडाँडो जङ्गलमा घाँस काटेर फर्कने क्रममा बारुलाले चिलेपछि चिच्याएकी किशोरीलाई सहयोग गर्ने बहानामा बलात्कारको प्रयास गरेको पीडित पक्षको आरोप रहेको छ ।
जङ्गलमा दाउरा काट्न गएका नेपालीले सहयोग गर्ने बहनामा एकान्त स्थानमा संवेदनशील अंग छुँदै बलात्कार गर्न खोजेको भन्दै ती किशोरी भागेर घर आएकी थिइन् ।
विवाहित किशोरीले घरमा आएर घटनाबारे जानकारी गराएपछि परिवारले सालझण्डी प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी टोलीले नेपालीलाई लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरको हो ।
उनीमाथि करणी सम्बन्धी कसुर ( उद्योग) अन्तर्गत म्याद थप गरि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक मरासिनीले बताए ।