काठमाडौँ / राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक वर्ष २०७८/७९ मा ४१२ वटा उजुरी फर्छ्यौट गरेको छ ।
आयोगका प्रवक्ता टिकाराम पोखरेलका अनुसार पुनः पेस गरिएका उजुरीहरू समेत गरी आयोगले ४ सय १२ वटा उजुरीहरू उपर निर्णय गरेको हो ।
आयोगले ३ सय ५१ उजुरीहरू फर्छ्यौट गर्दै नेपाल सरकारलाई नीतिगत ६ र उजुरी गत ८५ गरी कुल ९१ वटा सिफारिस गरेको पोखरेलले बताए ।
त्यस्तै, फर्छ्यौट गरिएका उजुरीहरूमा ९ उजुरी खारेजी भएका छन् भने २ सय ५१ उजुरी तामेलीमा छन् । ६१ वटा उजुरीहरू भने पुनः पेस भएका थिए । यो वर्ष ४ हजार २ सय १४ वटा उजुरीहरू जिम्मेवारी सरेर आएका थिए ।
तीमध्ये अनुसन्धान सम्पन्न भई निर्णयका लागि केन्द्रीय कार्यालयको अनुसन्धान महाशाखामा जम्मा १ हजार ५ सय ५४ र आयोगका प्रदेश तथा प्रदेश शाखा कार्यालयहरूमा अनुसन्धानरत जम्मा २ हजार ६ सय ६० छन् ।