काठमाडौं / महिलामाथि अमानवीय व्यवहार गरी सामाजिक सञ्जालमा प्रसारण गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी (पूर्व)  हुप्सेकोट गाउँपालिका- ३ गिरुबारी टोल बस्ने प्रदिप भन्ने २६ वर्षीय पूर्ण चन्द्र भुसाल रहेका छन् । 

भुसालले ‘बदमास केटिए’ नामक युट्युब च्यानल सञ्चालन गरी ‘प्राङ्क’ को नाममा बाटोमा हिँडिरहेकी महिलालाई ‘साथमा भएको पैसा, मोबाइल, गर गहना दिनुस् नदिएमा एसिड हानिदिन्छु’ भन्दै भिडियो बनाएका थिए । अति संवेदनशील बस्तु एसिड जस्तो घातक पदार्थ प्रयोग गर्छु भनी  समाजमा नकारात्मक सन्देश फैलाउने खालको भिडियो बनाई पोष्ट र अपलोड गर्ने कार्यमा संलग्न भुसाललाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)  को सहयोगमा नवलपरासी कावासोतीबाट पक्राउ गरेको हो । उनी माथि जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।