काठमाडौँ  / उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडुले कार्यविधि मिचेर आफ्ना स्वकीय सचिवलाई कन्सुलर (वाणिज्य) पदमा पठाउने निर्णय गरेका छन् । 

मन्त्री बडुले वाणिज्य अधिकृतका रुपमा स्वकीय सचिव दुर्गा भुसाल र प्रधानमन्त्री कार्यालयमा कार्यरत प्रधानमन्त्रीका निजी सचिव जनक भट्टलाई कलकत्ता र जेनेभा पठाउने निर्णय गरेका हुन् ।

OM Sai Pathibhara Hospital

वाणिज्य मन्त्रालयले यसअघि जेनेभा र कलकत्ता पठाउनको लागि कार्यविधि बनाएको थियो । जसअनुसार कर्मचारी छनौट गर्न समिति समेत गठन गरिएको थियो । तर, यसपटक भने मन्त्रालयले कार्यविधि लत्याएर मन्त्री र प्रधानमन्त्रीका पिएलाई पठाउने निर्णय गरेको हो ।

वाणिज्य मन्त्रालयमा कर्मचारी छनौट गर्न समिति बनेको छ । उक्त समितिमा उद्योग तथा आपूर्ति मन्त्रालयको प्रशासन हेर्ने सहसचिव संयोजक रहने, सदस्यमा मन्त्रालयकै डब्लुटिओ हेर्ने सहसचिव, द्विपक्षीय तथा क्षेत्रीय महाशाखा हेर्ने सहसचिव, सामान्य प्रशासन मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधि सदस्य छन् । तर, समिति नै नबनाएर यसपटक मन्त्री र प्रधानमन्त्रीका पिएलाई ठाडो आदेशमा त्यहाँ पठाइएको हो ।

यसअघि उक्त समितिले लिखित परीक्षा लिएर कर्मचारी छनौट गर्ने गरेको थियो । तर, यसपटक उक्त कार्यविधिलाई लत्याएर मन्त्री र प्रधानमन्त्रीका पिएलाई पठाइएको हो । यो ठाउँ वाणिज्य मन्त्रालयका कर्मचारीका लागि आकर्षक ठाउँ हो ।

यसअघि वाणिज्य मन्त्रालयबाट जेनेभामा बुद्धि उपाध्याय र कलकत्तामा तर्क भट्ट र त्यसभन्दा अघि मन्त्रालयकै कर्मचारी मिना अर्याल र रामेश्वर पोखरेललाई पठाइएको थियो ।