बिर्तामोड / १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हल्दीबारी गाउँपालिका- २ बस्ने ३० वर्षीय इन्द्रजित मण्डल रहेका छन् । मण्डलले ती बालिकालाई ललाइ फकाई पटकपटक बलात्कार गरेको र पीडितको स्वास्थ्य परीक्षण गराउँदा गर्भ समेत रहेको भन्ने जाहेरी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई सोमबार राति पक्राउ गरेको हो । 

यस्तै १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा मेचीनगर नगरपालिका- १५ बिचारनी टोल बस्ने २८ वर्षीय हरि राजवंशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राजवंशीले ती किशोरीलाई पटक पटक बलात्कार गरेको भन्ने जाहेरी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।