बिर्तामोड / कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार पछि हत्या भएको आज (मंगलबार) चार वर्ष पुगेको छ । 

२०७५ साल साउन १० गते साथीको घरबाट बेपत्ता भएकी निर्मलाको शव भोलिपल्ट (साउँन ११ गते) घरनजिकैको उखुबारीमा भेटिएको थियो । उक्त घटनाको चार वर्ष बितिसक्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन । 

OM Sai Pathibhara Hospital

घटना भएदेखि हालसम्म थुप्रै अनुसन्धान टोली गठन भए, थुप्रै नेता, समाजसेवी, महिला अधिकारकर्मीहरूले निर्मलालाई न्याय दिलाउने आश्वासन परिवारलाई दिए । तर अहिले सम्म निर्मला र निर्मलाको परिवारले न्याय पाउन भने सकेका छैनन् । 

निर्मलाको न्यायका लागि देशभरी प्रदर्शन गरियो, धेरै जना आन्दोलनका क्रममा घाईते भए र एकजनाको ज्यान समेत गयो । यो बिचमा जिल्लामा आधा दर्जन भन्दा बढी प्रहरी उपरीक्षक (एसपी) परिवर्तन भए, नयाँ आउने सबैले निर्मलाको हत्यारालाई कारवाही गर्ने आश्वासन दिए तर त्यो आश्वासनमै सीमित रह्यो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक श्याम चौधरीले घटनाको नयाँ कोणबाट अनुसन्धान भइरहेको बताएका छन् । अहिले पनि त्यस क्षेत्रका १८–१९ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको प्रहरीले जनाएको छ ।

हत्याकाण्डको अनुसन्धानका लागि १ सय ७ जनाको डीएनए परीक्षण भइसकेको छ भने अहिलेसम्म ६ सय ३५ जनालाई सोधपुछ गरिएको छ ।

नेपाल प्रहरीले धेरै साधन स्रोत र जनशक्ति खर्च गरेर निरन्तर चार वर्षसम्म यसरी अनुसन्धान गरेको यो पहिलो घटना भएको प्रहरी अधिकारीहरू बताउँछन् ।

प्रहरीले पनि घटनाको अनुसन्धानका लागि थुप्रै छानबिन समिति बनायो । विभिन्न ढंगबाट अनुसन्धान गर्दा पनि प्रहरी अहिलेसम्म कुनै ठोस निष्कर्षमा पुग्न सकेको छैन । प्रहरीले नयाँ कोणबाट अनुसन्धान थालिएको बताउँदै आएको छ।