काठमाडौँ / आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही दक्षिण तिर अवस्थित रहेको छ भने पूर्वमा सरदर स्थानको आसपासमा रहेको छ ।
मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 
प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ । 
त्यस्तै  आज राति देशको केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
भोलि बुधबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।