काठमाडौँ / नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष समेत रहेका सुरज वैद्यको तिनकुनेस्थित घरमा प्रहरीले छापा मारेको छ ।
उद्योगी सुरज वैद्यको घर भाडामा लिएर चिनियां नागरिकहरूले सञ्चालन गरको स्काइ वल्र्ड कल सेन्टरमा प्रहरीले छापा मारेको हो ।
जिल्ला प्रहरी परिसर काठमाण्डुको टोलीले अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा छापा मारेको एसएसपी भरत बोहोराले जानकारी दिए ।
उक्त कल सेन्टरमा प्रहरीले छापा मारेपछि एकछिन भागाभाग समेत भएको थियो । त्यहां ५ हजार युवा युवतीहरू कार्यरत रहेको आशंका छ ।
प्रहरीले काठमाण्डुस्थित चिनियां दूतावासको सहयोगमा २०७६ पुस ७ मा काठमाडौंको महाराजगञ्ज र ज्ञानेश्वरलगायतका विभिन्न क्षेत्रमा छापा हानेको थियो ।
प्रहरीले १ सय २२ जनाभन्दा बढी चिनियां नागरिक पक्राउ गर्नुको साथै विद्युतीय उपकरण र कागजजात समेत बरामद गरेको थियो । पछि चिनियां सरकारले उनीहरुलाई फिर्ता लिन चार्टड जहाज नै काठमाडौं पठाएको थियो ।
अहिले पनि ज्ञानेश्वर, महाराजगंज, ठमेललगायतका क्षेत्रमा चिनियाँहरूले अवैध काम गर्न कल सेन्टर चलाइरहेको पाएपछि प्रहरीले छापा मारेको हो ।
जसमा माओवादी केन्द्रका रोल्पा घर भएका प्रभावशाली नेताहरूका आफन्तहरूको पनि सहभागिता रहेको बताइन्छ । प्रहरीले यसअघि उनीहरूको संलग्नताको प्रमाण फेला पारेपनि कारवाही गर्न आनाकानी गरेको थियो ।
आइतबार पनि भैरहवाको तिलोत्तमा नगरपालिका –२ जानकी नगरस्थित ब्लु स्काई बिजनेस सोलुसन प्रा.लि. नामक कल सेन्टरमा प्रहरीले छापा मारेको थियो ।
छापा मार्ने क्रममा ठगी धन्दा चलाएको आरोपमा प्रहरीले एक जना भारतीयसहित ९ जना टिम लिडरहरूलाई पक्राउ गरेको थियो ।
उनीहरूले सर्वसाधारणलाई चिठ्ठा परेको म्यासेज पठाउने, अश्लिल म्यासेज पठाएर चरित्र हत्या गरी रकम उठाउने जस्ता काम गर्दै आएको पाइएको थियो ।