रूपन्देही / बाग्लुङको बुर्तिबाङबाट गुल्मी हुँदै बुटवलतर्फ आउने क्रममा आइतबार पाल्पाको लघुवामा भएको बस दुर्घटनाका मृतकको सोमबार बिहान सनाखत भएको छ ।

मृत्यु हुनेमा बाणगंगा नगरपालिका –२ कपिलवस्तुका ४५ वर्षीय सुरज सोमै, गुल्मीको चन्द्रकोट गाउँपालिका –८ का १६ वर्षीय प्रवेश काफ्ले, देवदह नगरपालिका –७ रूपन्देहीकी ८७ वर्षीया दिलसरा कामी, बर्दघाट नगरपालिका –५ पश्चिम नवलपरासीका २४ वर्षीया पूर्णिमा विक, बडिघाट गाउँपालिका –१० बाग्लुङकी ५५ वर्षीया यमकला थापा र मुसिकोट नगरपालिका –७ का ४० वर्षीय लालबहादुर राना रहेका छन् ।

OM Sai Pathibhara Hospital

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता विरेन्द्र थापाका अनुसार पाल्पाको रिब्दीकोट गाउँपालिका –२ लघुवामा लु १ ख ५९५२ नम्बरको बस सडकबाट झन्डै १ सय मिटर तल खसेर दुर्घटना भएको थियो । 

दुर्घटनामा परी १७ जना घाइते भएका थिए । घाइतेमध्ये लुम्बिनी मेडिकल कलेज र मिसन अस्पताल पाल्पामा १० जनाको उपचार भइरहेको र सामान्य अवस्थाका घर फर्किएका प्रवक्ता थापाले जानकारी दिए ।