बिर्तामोड / झापाको कचनकवल गाउँपालिका –५ स्थित पाठामारीका तीन जना किशोरीले सामूहिक आत्महत्या गरेका छन् ।
पंचम गणेशकी १६ बर्षिया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अन्जली र वीरबल गणेशकी १६ बर्षिया छोरी कल्पनाले एउटै रुखमा झुन्डिएर सामूहिक आत्महत्या गरेका हुन् ।
उनीहरु तीनै जना पाठामारीको बेल्लेगाउँस्थित झिङ खोलाको किनारमा रहेको बयरको रुखमा आज बिहान ७ः३० बजे झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
स्थानीय रत्न बुढाथोकीका अनुसार तीनै जना शनिबार दिउँसो घुम्न भनी घरबाट हिँडेका थिए । बिहान स्थानीयले उनीहरूलाई झुन्डिएको अवस्थामा मृत फेला पारेका हुन् । तीनै जना किशोरीहरू सुनकोशी चिया बगानमा काम गर्ने गरेको बुढाथोकीले बताए ।
दुईजना एउटा हाँगामा र एक जना अर्को हाँगामा झुण्डिएको अवस्थामा फेला परेका छन् भने एकजनाले गाई बाँध्ने दाम्लो, अर्कीले प्लाष्टिकको डोरी र अर्कीले गम्छा प्रयोग गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।
डीएसपी पाठकका अनुसार उनीहरूले किन सामूहिक आत्महत्या गरे भन्ने कारण अहिले सम्म खुल्न सकेको छैन् । उनीहरूको शवलाई कानुनी प्रकिया पुरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।