बिर्तामोड / प्रदेश नं. १ काे प्रदेशसभा बैठक आज बस्दै छ । गत असार १९ गते बजेट पारित गरेसँगै अर्को सूचना नभएसम्मका लागि स्थगन भएको बैठक आज दिउँसाे १ बजे बस्न लागेको हो ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेशसभाको बजेट अधिवेशन जारी छ । सरकार र दलहरूले यो अधिवेशनमा प्रदेशको नामकरण गर्ने बताएपनि अहिलेसम्म नामबारे सहमति जुटेको छैन ।

OM Sai Pathibhara Hospital

आजको बैठकमा प्रदेशसभामा छलफलमा रहेको प्रदेश सञ्चार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सम्बन्धित मन्त्रीले जवाफ दिने र प्रदेश प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई टेबल गरि छलफल अगाडि बढाउने सम्भावना रहेको छ ।

बैठकको कार्यसूची कार्यव्यवस्था परामर्श समितिको बैठकपछि तय हुनेछ । सभामुखको अध्यक्षतामा रहने समितिको बैठक प्रदेशसभा बैठक अगाडि बसेर कार्यसूची तय गर्ने बताइएको छ ।