काठमाडौँ / प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । आज दिउँसो १ बजे बस्ने बैठकमा कारागार विधेयक २०७८ पारित गर्ने कार्यसूची रहेको छ । 

२९ मंसिर २०७६ मा संसद्मा दर्ता भएको यो विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिले २०७८ वैशाखमा पारित गरेको थियो । 

OM Sai Pathibhara Hospital

पारित विधेयकमा खुला कारागारको अवधारणा र कैदीबन्दीलाई प्रजननको अधिकार रहने लगायत विषय समेटिएका छन् । विधेयकको दफा ४२ अनुसार कैद अवधिको दुई तिहाइ अवधि भुक्तान गरिसकेको र राम्रो आचरण भएको कैदीलाई कारागार प्रशासकले खुला कारागारमा राख्न सिफारिस गर्न सक्नेछ । 

खुला कारागारमा रहेका कैदीलाई नेपाल सरकार, प्रदेश सरकार मातहत सञ्चालित विकास आयोजना वा कार्यक्रममा काम गर्न लगाउन सकिने, स्वयंसेवकको रूपमा काम लगाउन सकिने लगायतका प्रावधान समेटिएका छन् । काम लगाउँदा कैदीबन्दीलाई नेपाल सरकारले तोकेको न्यूनतम तलब दिनुपर्नेलगायत व्यवस्था समेटिएको छ ।  

त्यस्तै, कारागार प्रशासकले गर्भवती वा सुत्केरी बन्दीलाई बसोबास, खानपान र स्वास्थ्य परीक्षणको सम्बन्धमा विशेष व्यवस्था राखिएको छ । उपचारका लागि गर्भवती बन्दी कारागार बाहिर बस्न चाहे सुत्केरी भएको ६० दिन पूरा भएको भोलिपल्ट कारागार फर्किन पाउने गरी कारागार प्रशासनले अनुमति दिनुपर्ने प्रस्ताव पनि विधेयकमा छ ।

यो विधेयकले कैदीबन्दीलाई बिहे र प्रजनन अधिकार दिने प्रावधानलाई पनि समावेश गरिएको छ । त्यस्तै आजको बैठकमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन पेस गर्ने र मदन भण्डारी विश्वविद्यालय विधेयक २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरिने छ ।