• रेवतीराज घिमिरे 

भद्रपुर  / झापाको भद्रपुरमा नेपाली कांग्रेसका नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४१ औं स्मृति दिवस मनाइएको छ । 

नेपाली कांग्रेस भद्रपुर नगर समितिले भद्रपुर नगरपालिका –१० स्थित धनुषमोडमा रहेको कोइरालाको मालिकमा माल्यार्पण गरी ४१ औँ स्मृति दिवस मनाएको हो । 

OM Sai Pathibhara Hospital

कार्यक्रमको उद्घाटन गर्दै नेपाली कांग्रेसका नेता एवम् पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाले वीपीले प्रतिपादन गरेको समाजवादको सिद्धान्तकै कारण मुलुकले गणतन्त्र स्थापना गर्न सफल भएको बताएका छन् । 

उनले वर्तमान सरकारले सबै नेपालीलाई  नागरिकता दिलाउने उद्देश्यले नागरिकता विधेयक फिर्ता लिएर नयाँ विधेयक ल्याउन लागेको भन्दै नयाँ विधेयक पारित भए पश्चात सबै नेपालीले सहजै नागरिकता प्राप्त गर्ने समेत बताए । उक्त  विधेयक पारित नभए  मुलुकमा अर्कै समस्या निम्तिने उनको भनाइ छ । 

आगामी संसदीय निर्वाचनमा पार्टीलाई  बहुमतको सरकार बनाउनका लागि निर्वाचन जिताउने गरी जनता माझ जान सबै कार्यकर्तालाई  उनले आग्रह समेत गरे । 

कार्यक्रममा नेपाली काङ्ग्रेस झापा सभापति देउकुमार थेवे, महिला नेतृ गोमा भट्टराई लगायतले बोल्दै वीपीले प्रतिपादन गरेको समाजवादको सिद्धान्त बमोजिम नेपाली कंग्रेसको नेतृत्वमा देशमा अहिले सम्मका सबै  परिवर्तन हुँदै गणतन्त्र सम्म आएको बताए ।

कार्यक्रममा प्रदेश मन्त्री ओमप्रकाश सरावगी लगायतका पार्टी  महाधिवेशन प्रतिनिधिहरू, महासमिति प्रतिनिधि लगायत जिल्लाका नेता तथा कार्यकर्ताहरूको उपस्थित रहेको थियो ।