बिर्तामोड / इलाका प्रहरी कार्यालय अनारमनी, झापामा कार्यरत  प्रहरी नायब उपरीक्षक रुगम बहादुर कुँवर असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले कुँवरलाई असार महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषणा गरेको हो ।

पुरस्कृत भएका कुँवरले लागूऔषध, चोरी लगायतका बिभिन्न आपराधिक घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै आम नागरिकहरूमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेको कारण उनले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०७९ साल असार “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको हो ।   

OM Sai Pathibhara Hospital

गत महिनामा मात्र झापाको अर्जुनधारा नगरपालिका –४ जुकेखाडी साहसी टोल स्थित कच्ची सड्क खण्डको ह्वुमपाइप भित्र बोरामा बाधेको अवस्थामा एक व्यक्तिको शव फेला परेको थियो । 

तत्काल पहिचान नखुलेको मृतक पुरुषको लाशको सुक्ष्मरुपमा अनुसन्धान गरी उक्त लाशको पहिचान खुलाउन साथै घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन कुँबर सफल भएका थिए । 

प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरू मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । 

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर तथा प्रदेश प्रहरी अन्तरगत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरूमा १ महिना सम्म राखिदै आईएको छ ।