काठमाडौँ / सांसद रेणुका गुरुङले सैनिक विशेष अदालतलाई सैनिक मुख्यालयबाट सिंहदरबार भित्र सार्न माग गरेकी छन् । बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले सैनिक विशेष अदालत सिंहदरबार भित्र सार्न माग गरेकी हुन् ।
सांसद गुरुङले भनिन्, –‘सेनामा न्यायप्रति विश्वास घटेको छ । सैनिक विशेष अदालतको वेथितिका विषयमा निरन्तर अनुगमनको लागि जोडदार माग गर्दछु । सैनिक विशेष अदालतलाई सिंहदरबार भित्र र सैनिक परिसर बाहिर सार्न माग गर्दछु ।’
सैनिक विशेष अदालतको बेथितिको कारण सयौँ सैनिकले समयमै न्याय पाउन नसकेको उनको दाबी छ । ‘सैनिक अदालत भनेको सैनिक नेतृत्वको एकल इजलास हो, जसका कतिपय निर्णय सैनिक नेतृत्व र तिनका निहित स्वार्थ बोकेका निश्चित समूहका रिसिवीका कारण अभिप्रेरित हुने गरेको छ,’ उनले भनिन् ।
सैनिक विशेष अदालत हप्ताको एक दिन मात्र बस्ने र त्यो दिन विभिन्न व्यक्तिहरूको व्यवस्थाका कारण इजलास बस्न नसकेको उनले बताइन् ।