एजेन्सी / पोर्चुगलमा गर्मीका कारण एक हप्ताभित्र दुई सय ३८ जनाको ज्यान गएको छ । सरकारले गर्मीका कारण चट्टान टुक्रिएर खस्न सक्ने भएकाले चट्टानी पहाडतिर नजान सर्वसाधारणलाई आग्रह गरेका छन् । गएको हप्तादेखि पोर्चुगलमा अधिकतम तापक्रम ४७ डिग्री तथा फ्रान्स र स्पेनमा ४० डिग्री सेल्सियस पुगेको छ ।
औद्योगिक युग सुरु भइसकेपछि मात्रै विश्वको तापक्रम एक दशमलव एक डिग्री सेल्सियसले बढिरहेको छ । युरोपका अरू देश पनि गर्मी र तातो हावाले प्रभावित भएका छन् । इटलीका केही उपत्यकालाई सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गर्दै आपतकाल घोषणा गरेको छ ।
उत्तरी मोरक्कोमा आगो फैलिएपछि दर्जनौँ गाउँ खाली गर्नुपरेको छ । मानव प्रेरित जलवायु परिवर्तनको ठूलो असर युरोपले भोगिरहेको छ । यो सँगै स्पेनमा पनि प्रचण्ड गर्मीका कारण ५१० जनाको मृत्यु भएको छ ।