काठमाडौँ / हिमालय एयरलाइन्सले कुवेतमा उडान सुरु गरेको छ । कम्पनीले शुक्रबार राति १०ः३२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेतका लागि उडान भरेको हो ।
उक्त जहाज कुवेतबाट शनिबार बिहान ९ः१७ बजे काठमाडौँ फर्किएको छ । एयरलाइन्सले अब हरेक शुक्रबार काठमाडौँ–कुवेत र हरेक शनिबार कुवेत–काठमाडौँ उडान गर्नेछ । यो हिमालयन एयरलाइन्सको आठौँ अन्तर्राष्ट्रिय गन्तव्य हो ।
कुवेत विशेषगरी रोजगारी र व्यापारिक उद्देश्य लिएर जाने नेपालीका लागि महत्त्वपूर्ण गन्तव्य हो । काठमाडौँ–कुवेत–काठमाडौँ सेक्टरमा उडान सञ्चालनमा ल्याउन २००६ जनवरी २३ मा हवाई सेवा सम्झौता भएको थियो ।